चितवन, कात्तिक २४-
पर्यटकको सङ्ख्या बढे पनि सौराहामा होटेलमा बस्ने पर्यटक घटेका छन् । सौराहा घुम्न आउने तर बास नबस्ने पर्यटक वृद्धि हुँदा होटल व्यवसायी चिन्तित बनेका छन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटेल व्यवसायी सुमन घिमिरे अहिलेको मुख्य सिजनमै होटेलका कोठा ४० प्रतिशतभन्दा बढी नबिकेको बताउँछन् ।
“विगतका वर्षमा यस सिजनमा ८०/९० प्रतिशतसम्म अकुपेन्सी (कोठामा अतिथि बस्ने) हुने सौराहामा यस वर्ष ४० प्रतिशत कटाउन पनि मुस्किल भएको छ,” उनले भने ।
सौराहामा १३० होटेलमा सात हजार पर्यटक राख्न सक्ने क्षमता छ । चितवनमा भने २४० वटा पर्यटकीय होटलमा चार हजार आठ सय बेड सङ्ख्या रहेको पर्यटनविद् डा विश्व सुवेदीले जानकारी दिए ।
“अहिले पर्यटक आगमनको सिजन हो तर पनि होटेल अकुपेन्सी बढ्न सकेन,” व्यवसायी घिमिरेले दुखेसो पोखे।
वर्षा सकिएर भदौ लागेसँगै पर्यटक आउने मुख्य सिजन मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार चितवनमा यस सिजनमा पर्यटकको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्म २८ हजार ६४ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । जबकि आव २०८०/८१ को सोही अवधिमा १७ हजार ६२ पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरेका थिए ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापाले यसरी घुम्न आउने पर्यटकमध्ये चालु आव २०८१/८२ को असोज मसान्तसम्म २६ हजार २७६ सौराहाबाट निकुञ्ज प्रवेश गरेको जानकारी दिए । आव २०८०/८१ को सोही अवधिमा १४ हजार ४६२ रहेको उनले जानकारी दिए ।
सौराहाका अलवा निकुञ्जमा कसरा, मेघौली र नवलपरासीको अमलटारीबाट पनि प्रवेश अनुमति दिइन्छ । सौराहाका तुलनामा यो क्षेत्रमा पर्यटकको सङ्ख्या न्यून छ तर पनि यस वर्ष यो क्षेत्रबाट पनि पर्यटक बढेको देखिन्छ ।