वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी, चैत ७

लगातार वर्षा भएसँगै सडक चिप्लो बनेपछि सम्भावित दुर्घटना र जोखिम घटाउने उद्देश्यले बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रको सडक हिलो र चिप्लो बनेपछि यातायात ठप्प जस्तै बनेको हो।

दाउन्नेको घिउखोला तथा विश्वकर्मा मन्दिर आसपासका क्षेत्रमा सवारीसाधन चिप्लिएर बीच बाटोमै अड्किँदा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार शुक्रबार दिउँसोदेखि परेको वर्षाका कारण सडक अत्यधिक हिलो बनेपछि उकालो भागमा सवारीसाधन उक्लिन नसक्दा लामो जाम लागेको छ।

उहाँले भन्नुभयो, “सामान्य वर्षामै पनि सडक चिप्लिने समस्या देखिएको छ। गाडीहरू अघि बढ्न नसक्दा बीचमै अड्किने गरेका छन्, जसले गर्दा यातायात सञ्चालनमा कठिनाइ भइरहेको छ।”

दाउन्ने क्षेत्रमा सडक अवरुद्ध भएपछि सवारी आवागमनमा समस्या उत्पन्न भएको छ भने सडक मर्मतको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। निर्माण कार्य अधुरो रहेकाले सामान्य वर्षामै पनि यहाँ बारम्बार समस्या दोहोरिने गरेको बताइएको छ।

यसैबीच आयोजनाले चैत ८ गतेसम्म दैनिक बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ। हाल साना सवारी, लामो दूरीका यात्रुवाहक र आकस्मिक सेवाका गाडीहरू भने सञ्चालनमा रहे पनि सहज रूपमा आवतजावत हुन नसकेको प्रहरीले जनाएको छ।