मुस्लिम समुदायले आज देशभर श्रद्धा, उत्साह र धार्मिक आस्थाका साथ इद उल फित्र पर्व मनाइरहेका छन्। एक महिनासम्म रोजा बसेपछि मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीले विशेष नमाज अदा गर्दै परिवार, आफन्त र समाजका ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने परम्परा निभाएका छन्।
इदको नमाजपछि तीन दिनसम्म आफन्तजन तथा ठूलाबडाकहाँ पुगेर शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ। यस अवसरमा सानालाई माया र आशीर्वाद दिइन्छ भने घरमा आउने पाहुनालाई सेवई, खजुरलगायत मिठा परिकार खुवाउने परम्परा पनि छ।
धार्मिक मान्यताअनुसार, इद उल फित्र दान, सहानुभूति र सामाजिक सद्भावको पर्वका रूपमा पनि चिनिन्छ। मुस्लिम समुदायले आफ्नो आर्थिक हैसियतअनुसार गरिब, असहाय तथा दीनदुःखीलाई सहयोग गर्ने भएकाले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।
मुस्लिम धर्मावलम्बी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारका अनुसार, अरबी पात्रो हिजरी संवत अनुसार नवौँ महिनाको अन्त्यमा चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने मिति तय गरिन्छ। धार्मिक ग्रन्थ कुरानमा उल्लेख भएअनुसार, मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत रकम वा जिन्सी सामग्री दान गर्नुपर्ने व्यवस्था छ। यसलाई जकात भनिन्छ, जुन गरिब तथा आवश्यकतामा परेकालाई वितरण गरिन्छ।
त्यस्तै, इदको अवसरमा प्रत्येक व्यक्तिले आफ्नो क्षमताअनुसार गहुँ वा सो बराबरको नगद दान गर्ने चलन छ, जसलाई सदकातुल फित्र (फित्रा) भनिन्छ। धार्मिक मान्यताअनुसार यो दान गर्भमा रहेको शिशुको नाममा समेत गर्नुपर्ने विश्वास छ।
आजभन्दा करिब एक महिनाअघि सुरु भएको रमजान महिनाभरको रोजा मुस्लिम समुदायले आस्था र अनुशासनका साथ पूरा गरेका छन्। सूर्योदयअघि भोजन गरेर सुरु हुने रोजा सूर्यास्तपछि खोल्ने गरिन्छ। यो अवधिलाई आत्मशुद्धि, संयम र पापबाट मुक्ति प्राप्त गर्ने समयका रूपमा लिइन्छ। इद उल फित्रको दिन मुस्लिम समुदायले नयाँ लुगा लगाएर साथीभाइ, आफन्त तथा छिमेकीसँग भेटघाट गर्दै इदको शुभकामना आदानप्रदान गर्ने गर्छन्।




