सिरहा । सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मतको पैसा नतिरेको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चैत ६ गते अपराह्न करिब ४:५० बजे स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच विवाद चर्किएपछि कुटपिट भएको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक गजेन्द्र नारायण रायको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर अवस्था नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार झडपमा सलमान पक्षका ४ जना र हासिम पक्षका २ जना गरी कुल ६ जना घाइते भएका छन्।
सलमान पक्षबाट घाइते हुनेमा अन्दाजी ४० वर्षीया भुटनी खातुन (टाउको र दाहिने हातमा मध्यम चोट), ३५ वर्षीय रहमद दफाली (टाउको र दाहिने हातमा चोट), ५८ वर्षीय इरफान मियाँ (टाउको, दाहिने हात र गर्दनमा मध्यम चोट) र २६ वर्षीय लालबाबु मियाँ (टाउको र दाहिने हातमा चोट) रहेका छन्।
त्यस्तै, हासिम पक्षका १९ वर्षीय अरमान हुसेन (टाउकोमा मध्यम चोट) र आरिफ दफाली (बायाँ हातमा चोट) घाइते भएका छन्। घाइतेमध्ये भुटनी खातुनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ भने अन्य सबैको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।




