वीरगन्जको एक लजमा भारतीय दम्पती मृत फेला

वीरगन्ज, चैत्र ९ गते ।

वीरगन्ज महानगरपालिका–नयाँ बसपार्क क्षेत्रअन्तर्गत भानु चोक नजिक रहेको नवदुर्गा लजमा एक भारतीय दम्पती मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार भारतको पश्चिम बंगाल, कोलकाताका करिब ३४ वर्षीय बपन पत्रा र उनकी करिब ३२ वर्षीया पत्नी लजको कोठाभित्र एउटै सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।

होटल व्यवस्थापनले दिएको जानकारीअनुसार उक्त दम्पती चैत ४ गते बिहान लजमा बस्न आएका थिए। सोही दिन उनीहरू बजार घुम्न निस्किएर पुनः लज फर्किएका थिए। आइतबार बिहान अबेरसम्म पनि कोठा नखुलेपछि होटल पक्षले ढोका ढक्ढक्याएर हेर्दा कुनै प्रतिक्रिया नआएपछि शंका उत्पन्न भएको थियो। त्यसपछि करिब ११ बजे प्रहरीलाई खबर गरिएको बताइएको छ।

प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडी कोठाभित्र प्रवेश गर्दा दुवै जना एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ। प्रहरीका अनुसार लजको रजिस्टरमा बपन पत्राको नाम मात्र उल्लेख गरिएको छ भने महिलाको नाम दर्ता नभएकाले उनको औपचारिक पहिचान खुल्न बाँकी छ।

उनीहरू कुन उद्देश्यले वीरगन्ज आएका थिए र घटनापछाडिको वास्तविक कारण के हो भन्ने विषयमा हालसम्म स्पष्ट हुन सकेको छैन। प्रहरीले दुवै शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ।

घटनाको थप अनुसन्धानका लागि प्रहरीले लज सञ्चालक तथा कर्मचारीसँग सोधपुछ गरिरहेको जनाएको छ।