चितवनको रत्ननगरमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

चितवन, चैत ९-

चितवनको रत्ननगर नगरपालिका–९, निपनी चोकमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) दिउँसो करिब ३ः२५ बजे खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल बोकेको तेलको ट्याङ्करले भित्री सडकबाट मुख्य सडकमा निस्कँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी ३०–३५ वर्षीया मीना रेग्मीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । यस्तै सोही ठाउँका स्कुटर चालक चालक ५३ वर्षीय पूर्ण सापकोटा भने सकुशल रहेका छन् ।

दुर्घटनापछि ट्याङ्करले सडक किनारमा रोकिराखेका ना ६५ प ७८८३ र ना ५५ प ८०८३ नम्बरका मोटरसाइकल तथा एउटा साइकललाई समेत ठक्कर दिँदा ती सवारी साधनमा क्षति पुगेको छ ।

ट्याङ्कर चालक राप्ती नगरपालिका–७ बस्ने २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि सो क्षेत्रमा केही समय यातायात अवरुद्ध भए पनि हाल डाइभर्ट गरी सञ्चालनमा ल्याइएको प्रहरीले उनले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।