नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण

काठमाडौँ, चैत १३ –

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ गराउनुभएको हो।

राष्ट्रपति पौडेलले आज बिहान संविधानको धारा ७६(१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेसँगै प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढेको थियो।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसपटकको शपथ समारोह वैदिक–सनातन परम्परालाई झल्काउने शैलीमा सम्पन्न गरिएको थियो। सात शङ्खको शङ्खनाद, १०८ वटुकद्वारा स्वस्ति–शान्ति वाचन तथा १०८ बौद्ध भिक्षु लामाद्वारा शुभ–मङ्गल पाठ गरिएको थियो।