बाराको जीतपुरबाट नक्कली नोट सहित ५ जना पक्राउ

बारा, माघ २५ गते ।

बारा जिल्लाबाट नक्कली नोट सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर बजारबाट नक्कली नोट सहित ५ जनालाई पक्राउ गरेको हो ।

हिजो बुधबार जीतपुर बजारमा नक्कली नोटबाट कारोबार गरिरहेको अवस्थामा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको थियो भने उक्त घट्नाको अनुसन्धानको क्रममा नक्कली नोट संग सम्बन्धित अन्य ४ जनालाई विभिन्न ठाँउबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ।

पक्राउ परेका ५ जनाको साथबाट एक हजारको नक्कली नोट ६१ थान (६१ हजार) बरामद भएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भयो । बरामद भएको ६१ हजार नक्कली नोट सहित उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उँहाले बताउनु भयो ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नम्बर ३ का ४४ वर्षिय रामचन्द्र महतो कोईरी, बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नम्बर ५ का सुमित साह, र संतोष पटेल, तेसै गरि पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका वडा नम्बर १० का बिशाल कुमार श्रीवास्तव र निरज श्रीवास्तव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।