जीतपुरसिमरा ३ का वडाध्यक्ष कार्की विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बारा, माघ २५ गते ।

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाका एक वडा अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उपमहानगरको वडा नम्बर ३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष कार्कीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिरहेको अवस्थामा बाराको जीतपुरबाट पक्राउ गरेको थियो। उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा आरोपपत्र दायर गरिएको छ ।

यता वडा अध्यक्ष कार्कीले पक्राउ परेको समय देखीनै आफुलाई नियोजित ढंगले फसाउन खोजिएको बताउदै आएका छन् ।