बारा, २७ चैत्र
विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपुर्ण जीत निकाल्दै मच्छिन्द्र क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । मंगलबार रातीसिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलमा आर्मी विरुद्ध मच्छिन्द्रले १–० को संघर्षपुर्ण जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
मच्छिन्द्रको जीतमा खेलको ६९ औं मिनटमा शौरभ लिम्बुले एक मात्र निर्णायक गोल गरे । खेलको ६३ औं मिनटमा अभिषेक गुरुङको ठाउँमा मैदान प्रवेश गरेका लिम्बुले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै सहजै गोल गरेका थिए । सेन्टर लाईनबाट बल अघि बढाएका विमल घर्ती मगरको पासमा सौरभ लिम्बुले डिबक्स बाहिरैबाट बललाई गोलपोष्टको दिशा दिएका थिए । मच्छिन््रद्रका ेप्रयासलाई रोक्न डि–एरिया बाहिरै आइपुगेका आर्मीका गोलरक्षक कुथुलाई बिट गर्दै सौरभले सुन्दर गोल गरेका थिए ।
खेलको ८८ औं मिनटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । आर्मीका डिफेण्डर बिमल पाण्डेले मच्छिन्द्रका विमल घर्ती मगरलाई डिबक्स भित्र लडाए पछि एन्फा रेफ्री उमेश विंडारीले मच्छिन्द्रलाई पेनाल्टी मौका दिएका थिए । मच्छिन्द्रका देबेन्द्र तामाङको पेनाल्टी प्रहार क्रसबार माथीगयो । खेलको अन्तिम समयमा पाएको सो अवसर गुमाउँदा मच्छिन्द्रले अग्रता जोगाउन अन्तिम संघर्ष गर्नुपर्यो ।
राष्ट्रिय टिमका चर्चित अनुहारहरु सिमरा रङ्गशालामा उत्रँदा रङ्गशालामा उपस्थित पाँच हजार बढी दर्शक उत्साहित देखिन्थे । प्रतिष्पर्धात्मक खेलमा दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गरेपनि पहिलो गोलका लागि ६९ मिनटसम्म कुर्नु परेको थियो ।
खेलको म्यान अफदि म्याच मच्छिन्द्र फुटबल क्लबका मनिष डाँगी घोषित भए । उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे । बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल र शुभारम्भ कलेजका निर्दशक अनिल चौधरीले म्यान अफ दिम्याचको पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत बुधबार आयोजक नवजन जागृति युवा क्लब सिमरा र नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबका विच खेल हुनेछ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग तथा जगदम्बा स्टिलको मुख्य प्रयोजनमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।




