जीतपुरसिमरा गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै पुलिस सेमीफाइनलमा

बारा, २८ चैत्र

विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार राती सिमरा रङ्गशालामा भएको क्वाटरफाइनलमा पुलीसले आयोजक नव जन जागृती युवा क्लब सिमरालाई घरेलु मैदानमा स्तब्ध बनायो । आयोजकलाई २–१ गोल अन्तरले पाखा लगाउँदै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पुलिसको जीतमा दुबै गोल उज्वल राईले गरेका थिएभने आयोजक टिमका लागि मोहित गुरुङले पेनाल्टी गोल गरेका थिए । खेलको तेश्रो मिनटमै आयोजकविरुद्ध पुलिसले अग्रता बनाएको थियो । आयोजकको समर्थनमा सिमरा रङ्गशालामा उपस्थित करिब ८ हजार घरेलु दर्शकलाई निराशपार्दै पुलिसका लागि उज्वल राईले उत्कृष्ट शुरुवात गरेका थिए । राईट कर्नर एरियाबाट आयोजकका डिफेण्डर बिट गर्न सफल सुजन मगरको पासमा उज्वलले गोल गरेका थिए ।

शुरुवाती दबाबमा परेको आयोजक खेलको पाँचौ मिनटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्कियो । पुलिस क्लबका निरज खड्काले आयोजक टिमका मोहित गुरुङलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री प्रज्वल थापा मगरले आयोजकलाई पेनाल्टी अवसर प्रदान गरेका थिए । पेनाल्टी मार्फत गोल गर्दै मोहित गुरुङले आयोजकलाई बराबरीमा ल्याएका थिए । खेलको १९ औं मिनटमा उज्वल राईलेनै गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । डिबक्स बाहिरबाट आयोजकका डिफेण्डर बिट गर्दै बल अघि बढाएका उज्वलले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा भएको गोलनै पुलिसको जितमा निर्णायक बन्यो । दुबै टिमले अन्तिम सम्म संघर्ष गरेका थिए । खेलमा दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेन । खेलको ११ औं मिनटमा पुलिसका उज्वल राईले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले । सुजन मगरको पासमा उज्वलले गरेको प्रहार फस्टबार नजिकबाट बाहिरिएको थियो ।

खेलको १२ औं मिनटमा आयोजकले गोल गर्ने सुन्दर अवसर गुमायो । निरज कार्कीले पुलिसका गोलरक्षक समेत विट गरिसकेको अवस्थामा गरेको प्रहार पुलिसका डिफेण्डर शिशिर चौधरीले उत्कृष्ट हेडिङ गर्दै गोल लाईनबाट क्लिएर गरेका थिए ।

खेलको ८८ औं मिनटमा पुलिसका आशिष राईले वन भर्सेन वनको अवसर खेर फाले । सेन्टर लाईनबाट एक्लै बल अघि बढाएका आशिष फिनिसिङमा चुक्दा आयोजकका डिफेण्डरले रोक्न सफल भए ।

दोेश्रो हाफको इन्जुरी समयमा बराबरी गर्ने अवसर आयोजकले सदुपयोग गर्न सकेन । विबेक गुरुङको पासमा मोहित गुरुङको हेडिङ बल क्रसबार माथिबाट बाहिरीयो । खेलमा आकर्षक अवसरहरु बनाएपनि फिनिसिङमा चुक्दा आयोजक नव जन जागृति युवा क्लब घरेलु मैदानमा निराश बन्यो ।

खेलको म्यान अफदि म्याच पुलिसका उज्वल राई घोषित भए । उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत विहिबार नेपाल एपिएफ क्लब र फ्रेण्ड्स क्लबको बिचमा अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग तथा जगदम्बा स्टिलको मुख्य प्रयोजनमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।