चितवनमा गठबन्धन भर्सेस एमाले, के छ चुनावी अंकगणित ?

  • चितवन, साउन ३०-

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरिसकेको छ । निर्वाचनको मिति तय भएसँगै चितवनमा चुनावी सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु आन्तरिक तयारीमा जुट्नुको साथै अंकगणितीय लेखाजोखामा केन्द्रित देखिन्छन् ।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र एकता गरेका थिए । वाम एकताका कारण चितवनमा संघीय र प्रदेश सभामा अधिकांश क्षेत्रमा एमाले र माओवादी केन्द्र विजयी हुँदा काँग्रेस भने खुम्चिएको थियो । चितवनका सबै क्षेत्रमा निर्वाचन जितेर बाम गठबन्धनले एकल बहुमत प्राप्त गरेको थियो । एकताले दुवै पार्टीका कार्यकर्ताहरुमा आशाको सञ्चार गराएको थियो । अब ५० वर्ष एकता नटुट्ने शीर्ष नेता केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धता व्यक्त गरेका थिए तर उनीहरु दुवैको प्रतिबद्धता र घोषणा पूरा हुन नसकेकोले पनि कार्यकर्ता पहिले जस्तो उत्साहित बन्न सकेका छैनन् । एक र अर्काेबीच आरोप प्रत्यारोपमा नेपालको राजनीति अल्झिराखेको देखिन्छ । निराश कार्यकर्ता फकाउन दुवै पार्टीलाई त्यति सजिलो भने छैन ।

आसन्न निर्वाचनमा एमालेविरुद्ध सत्तारुढ गठबन्धन तालमेलका साथ चुनावी मैदानमा उत्रिने भएका छन् । अघिल्लो निर्वाचनमा पार्टी एकताका आधारमा एमालेले हासिल गरेको बहुमत सिट सत्ता गठबन्धनको कारणले खोसिने त होइन भन्ने चिन्ता एमालेमा छ । तर चितवनमा एमाले सबैभन्दा बलियो पार्टीको रुपमा स्थापित छ । सत्ता गठबन्धनसँग हुने तालमेललाई चुनौती दिन एमाले एक्लै वा साना दलहरुसँग तालमेल गर्ने रणनीतिमा देखिन्छ ।

२०७४ मा नेकपा माओवादी केन्द्रसँग एकता गरेर ठूलो पार्टी बनेको एमाले आगामी निर्वाचनमा एक्लै चुनावी मैदानमा होमिन खोज्दै छ । चितवनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको प्रभाव पनि राम्रै देखिन्छ अघिल्लो निर्वाचनमा उनले प्रचण्डसँग चुनावी प्रतिस्पर्धा गर्दा पनि राम्रो मत ल्याएका थिए । उता आगामी निर्वाचनमा माओवादी केन्द्र पनि संसदीय अंकगणितमा आफू निर्णायक शक्ति बन्ने गरी गठबन्धन गरेर अगाडि बढेको छ । सत्ता गठबन्धन नभाँडिएको खण्डमा कांग्रेसलाई सघाएर अघि बढ्ने तयारी माओवादी केन्द्रको छ । सोही अनुसार माओवादी केन्द्रले पनि आफू कुन ठाउँमा कसरी सुरक्षित बन्न सकिन्छ भन्नेमा कसरत गरिरहेको छ ।

२०७४ को चुनावी अंकगणित

चितवनमा प्रतिनिधिसभा तर्फ चितवन १ मा एमालेका सुरेन्द्रप्रसाद पाण्डे ५१ हजार ८० मत ल्याएर निर्वाचित भएका थिए । उनको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद वुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले ४४ हजार ६७० मत र कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत ल्याएका थिए । यो क्षेत्र एमाले उपाध्यक्ष बादलको पनि क्षेत्र हो ।

त्यसैगरी देशभर निकै चर्चामा आएको चितवन ३ माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४८ हजार २७६ मत ल्याएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरे । अहिले एमाले र माओवादीको गठबन्धन टुटेर कांग्रेसले माओवादीसँग चुनावी तालमेल गरेकोले प्रचण्डलाई त्यती सहज भने देखिँदैन । अर्काेतिर स्थानीय निर्वाचनमा आक्रामक बनेको कांग्रेसको असन्तुष्ट समूहको भूमिका कस्तो रहन्छ भन्ने विषयले पनि प्रचण्डको जितलाई निर्धारण गर्छ । हरेक पटकमा निर्वाचन क्षेत्र फेर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपटक भने चितवन ३ बाटै दोस्रोपटक चुनाव लड्दैछन् । २०६४ मा रोल्पा र काठमाडौं, २०७० मा काठमाडौं र सिरहा तथा २०७४ मा चितवनबाट प्रचण्डले चुनाव लडेका थिए । यसपटक निर्वाचन क्षेत्र फेर्न पार्टीभित्र सुझाव आए पनि आफू चितवन ३ बाटै उम्मेदवार बन्ने घोषणा उनले गरेका छन् । प्रचण्डको फेरि एकपटक प्रधानमन्त्री बन्ने धोको चितवन क्षेत्र नम्बर ३ ले पूरा गर्छ कि गर्देन मंसिरको पहिलो सातासम्म कुर्न जरुरी छ ।