आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्यलाई तीव्र पारेको छ। आयोगका अनुसार हालसम्म ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका लागि कुल १ करोड ३७ लाख ९१ हजार थान मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छपाइ कार्यअन्तर्गत डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँकेका मतपत्र छापिसकिएको आयोगले जनाएको छ।
आयोगका अनुसार केन्द्रमा दैनिक करिब १५ लाखको दरले मतपत्र छपाइ भइरहेको छ। फागुनको पहिलो साताभित्रै सबै जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत देशभर कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने कार्यतालिका रहेको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ आवश्यक सबै मतपत्रको छपाइ यसअघि नै सम्पन्न भइसकेको छ। समानुपातिकतर्फ कुल २ करोड ८ लाख ३० हजार मतपत्र छापिएको र ती मतपत्रहरू हाल आयोगको गोदाममा सुरक्षित राखिएको जनाइएको छ।
छपाइ सम्पन्न भएका जिल्लाहरूमा माघको अन्तिम सातादेखि मतपत्र ढुवानी प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ। दुर्गम जिल्लामा हेलिकप्टरमार्फत तथा सुगम जिल्लामा सडकमार्फत कडा सुरक्षा व्यवस्थासहित मतपत्र पठाइने आयोगले जनाएको छ।




