जीतपुर, चैत्र ३ गते ।
सिम्रौनगढ नगरपालिका–५ मा सोमबार राति दुई भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। सिम्रौनगढबाट कलैयातर्फ गइरहेका बीआर०५एए ८४४४ र बीआर३०भी ४६३७ नम्बरका मोटरसाइकल एकआपसमा जुध्दा दुर्घटना भएको हो।
दुर्घटनामा ४६३७ नम्बरको मोटरसाइकलमा सवार ४५ वर्षीय सुरेन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सिम्रौनगढ नगरपालिका–५ कै बासिन्दा हुन्। दुर्घटनापछि उनलाई तत्कालै उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा ८४४४ नम्बरको मोटरसाइकलका चालक ३५ वर्षीय दिलिपकुमार पटेल, ४६३७ नम्बरका चालक २२ वर्षीय राजा साह तथा १५ वर्षीय भरतकुमार साह रहेका छन्। उनीहरू सबैको कलैयास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




