सिरहा अदालत अगाडि बम विस्फोट: एक जना पक्राउ, अनुसन्धान जारी

सिरहा, चैत्र ६ गते ।

सिरहा जिल्ला अदालत अगाडि रहेको बार एशोसिएसन कार्यालयमा कुकर बम विस्फोट भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ का गुमस्ता यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाबारे अहिले विस्तृत अनुसन्धान चलिरहेको छ। उनले अनुसन्धान पूरा भएपछि मात्रै थप जानकारी सार्वजनिक गरिने बताएका छन्।

प्रहरीका अनुसार शंकाको आधारमा यादवलाई पक्राउ गरिएको हो र विगत चार दिनदेखि अनुसन्धान भइरहेको छ। उनी सिरहा अदालत अगाडि आफ्नै कार्यालय सञ्चालन गरेर लेखापढीको काम गर्दै आएका थिए।

विस्फोटमा कार्यालयमा कार्यरत एक कर्मचारी घाइते भएका छन्। घाइते हुनेमा सिरहा नगरपालिका–१ का सौरभ यादव छन्, जसको खुट्टामा चोट लागेको बताइएको छ।

घटनाका कारण कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा समेत क्षति पुगेको छ।