प्रधानमन्त्री कपका लागि मधेस प्रदेशको टोली घोषणा, अनिल साह कप्तान

बारा, चैत्र ६ गते ।

चैत ७ गतेदेखि सुरु हुने ‘प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता’का लागि मधेस प्रदेश क्रिकेट संघले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीको कप्तानी राष्ट्रिय टोलीका खेलाडी अनिल साहलाई दिइएको छ।

संघका कोषाध्यक्ष सुवास जयसवालका अनुसार बारा, पर्सा र सप्तरीमा तीन चरणमा सञ्चालन गरिएको विशेष छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेटेर टोली तयार गरिएको हो।

मधेस प्रदेशको टोली:
अनिल साह (कप्तान, बारा), पवन सर्राफ (बारा), आदिल अंसारी (बारा), अरनिको यादव (बारा), निरज यादव (बारा), रञ्जित कुमार (पर्सा), महमद समीर (पर्सा), हिमांशु दत्त (धनुषा), मयन यादव (धनुषा), बिशाल सुस्लिङ (धनुषा), रुपेश सिंह (सिरहा), प्रदीप पासवान (सिरहा), अभिशेक तिवारी (महोत्तरी), बिशाल पटेल (सर्लाही) र आशिक बैठा (रौतहट)।

टोलीमा बाराका ५, धनुषाका ३, पर्साका २, सिरहाका २ तथा महोत्तरी, सर्लाही र रौतहटका १–१ जना खेलाडी परेका छन्।

प्रतियोगिताको तालिका र स्थान:
यस वर्षको प्रतियोगिता मधेस प्रदेशका विभिन्न रंगशालामा पनि आयोजना हुँदैछ। उद्घाटन खेल जनकपुरस्थित रामजानकी रंगशालामा हुनेछ, जहाँ आयोजक मधेस प्रदेशले कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। त्यही दिन वीरगञ्जको नारायणी रंगशालामा लुम्बिनी र कर्णाली प्रदेशबीच खेल हुनेछ।

तीन रंगशाला, ४६ खेल:
वीरगञ्ज (नारायणी रंगशाला)मा फाइनलसहित १९ खेल, जनकपुर (रामजानकी रंगशाला)मा १७ खेल र काठमाडौं (मुलपानी मैदान)मा १० खेल हुनेछन्।

आईसीसी विश्वकप लिग–२ को तयारीका कारण यस पटक कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भने खेल राखिएको छैन।

सहभागी टोलीहरू:
करिब एक महिना चल्ने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपीएफसहित सात प्रदेशका गरी कुल १० टोली सहभागी हुनेछन्। साविक विजेता नेपाल पुलिस क्लब यसपटक पनि उपाधिको प्रमुख दाबेदारका रूपमा रहेको छ।