रौतहट, चैत ११ गते ।
नक्कली सुनलाई सक्कली भन्दै बिक्री गर्न खोजेको आरोपमा रौतहट प्रहरीले चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ नेतृत्वको टोलीले मंगलबार दिउँसो चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटलको कोठा नम्बर १०२ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय अरविन्द चौधरी, रौतहट बौधीमाई नगरपालिका–६ का ३८ वर्षीय रुपकेश राय यादव तथा भारत, पश्चिम बंगाल सिलिगुडी निवासी ३० वर्षीय संजोक बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार होटलको कोठाबाट ‘क्रेडिट सुइस १० ग्राम फाइन गोल्ड ९९९.९’ लेखिएको सुनजस्तो देखिने पहेँलो धातु ४ थान, पोलेर कालो बनाइएको धातु १ थान, टुक्रा पारिएको धातु २ थान, एक थान दूरबिन र ६ थान मोबाइल बरामद गरिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले नक्कली सुनलाई सक्कली भनेर बिक्री गर्ने उद्देश्यले कारोबार गर्दै आएको खुलेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको र पक्राउ परेकामाथि ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।




