सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय

बारा, चैत २२-

अब सरकारले सातामा दुई दिन अर्थात् शनिबार र आइतबार बिदा दिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार र आइतबार दुवै दिन बिदा दिने निर्णय गरेको हो।

बिदाको यो निर्णय शैक्षिक संस्थामा आगामी वैशाख १५ देखि लागु हुने बताइएको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता र बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न यो कदम चालिएको हो ।

नयाँ व्यवस्था अनुसार सरकारी कार्यालयहरू अब बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछन्। यद्यपि, शैक्षिक संस्थाहरूको हकमा भने यो कार्यालय समय लागू नहुने मन्त्री पोखरेलले स्पष्ट पारे ।

यसअघि विभिन्न समयमा यस्तो प्रयास गरिए पनि पूर्ण तयारीको अभाव र सेवा प्रवाहमा समस्या देखिएपछि सरकार पुरानै अवस्थामा फर्किन बाध्य भएको थियो।