बारा, चैत २३-
बारा जिल्ला क्रिकेट संघले तेस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा पर्सामाथि ६ विकेटको सान्त्वना जित हात पारेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहस्थित सेज क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा पर्साले दिएको १३१ रनको लक्ष्य बाराले १९.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै जित निकालेको हो।
बाराको जितमा साहिल पटेल नायक बने। उनले अविजित ४६ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई जिततर्फ डोहोर्याए। ३८ बल खेलेका साहिलले ६ चौका र १ छक्का प्रहार गरे। उनलाई महमद साहिद अलीले मजबुत साथ दिए। अलीले २५ बलमा अविजित ३१ रन बनाउँदै ३ चौका र २ छक्का प्रहार गरे। ओपनर साबजान मन्सुरीले २८ रन जोड्दा रविकुमार साहले १७ रनको योगदान दिए। पर्साका लागि नितेश पटेल, वशिम मन्सुरी, अभय यादव र अरमान शेखले समान १/१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो। पर्साका सम्साद मन्सुरीले २७, अकिब अंसारीले २४, साजेद मन्सुरीले १७, हासिम अंसारीले १६, सफवान अलीले १५ र आदर्श भण्डारीले ११ रन जोडे। बाराका करण साह तेलीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने खिलराज सर्राफ, सिराज हवारी र रोहन साहले समान १/१ विकेट हात पारे।
खेलको प्लेयर अफ द म्याच बाराका साहिल पटेल घोषित भए। उनलाई नेकपा जीतपुरसिमराका अध्यक्ष प्रेम बरालले पुरस्कार प्रदान गरे। साथै जनकपुर बोल्ट्सका तर्फबाट सन्तोष दाहालले जर्सी हस्तान्तरण गरेका थिए।
प्रतियोगिताअन्तर्गत मंगलबारदेखि समूह ‘बी’ का खेल सुरु हुनेछन्। समूह ‘बी’ मा आयोजक जीतपुरसिमरा क्रिकेट क्लब, मकवानपुर र चितवन रहेका छन्। यस समूहको शीर्ष टोली फाइनलमा पुग्नेछ। यसअघि समूह ‘ए’ बाट सर्लाही जिल्ला क्रिकेट संघ फाइनलमा प्रवेश गरिसकेको छ। सर्लाहीले पर्सालाई १७ रन र बारालाई ४१ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा प्रतियोगिता आयोजना भइरहेको छ।




