माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव पुष्पराज ढकालले कार्यभार सुरु गरेका छन् । ढकालले आज दिउँसो पदभार ग्रहण गरेका हुन् ।
ढकाललाई माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसँगै नगरपालिकाका कर्मचारीहरुले स्वागत गर्दै पदस्थापना गराएका थिए । प्रमुख प्रशासकीय अधिकृतका रुपमा पहिलो हस्ताक्षर गर्दै उनले नगरपालिका मातहतका ९ वटै वडा कार्यालयहरुमा सीसीटीभी क्यामेरा जडान गरी वडाहरूमा हुनेगरेको सेवा प्रवाहको अनुगमन नगरपालिकाबाटै गर्ने प्रणाली स्थापनाको निर्णय गरेका छन् ।
नगरपालिकामा शिक्षा शाखा प्रमुखका रुपमा कार्यरत ढकालले यसअघि पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा करीब आधा वर्ष जिम्मेवारी सम्हालेका थिए । सो अवधिमा नगरपालिकाका ऐन र नियमावलीहरुको निर्माणमा उनले विशेष पहल गरेको मेयर ढकालले दाबी गर्दै आएका छन् । उनलाई प्रशासकीय अधिकृत चाहियो भनेर नगरपालिकाका मेयर ढकालले एक महिना अगाडि सामान्य प्रशासन कार्यालयमा निवेदन दिएका थिए । यसअघि दोलखाबाट सरुवा भएर माडीमा आठ महिनासम्म प्रशासकीय अधिकृत रहेका अर्जुन गौतमलाई सुरुदेखि मेयरलगायत माओवादी कार्यकर्ताहरुबाट हतोत्साही गर्ने काम भएको आरोप लगाइएको छ । गौतमले मेयर ढकालले माओवादी कार्यकर्तालाई पैसा बाड्न पाइन भनेर मन्त्रालयमा आफ्नो सरुवाको माग गर्दै गैरकानुनी ढंगले निवेदन पेस गरेको आरोप लगाएका थिए । उनको आरोप सत्य भएको उपमेयर ताराकाजी कुमारी महतोले पनि नारायणी अनलाइनलाई प्रतिक्रिया दिएकी थिइन् ।




