वडाध्यक्ष गुप्ताले सम्हाले जीतपुर स्कुलको व्यवस्थापक समितिको अध्यक्षको पदभार

  • जानकारी नेपाल, डेस्क ।

बाराकाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ जीतपुरमा रहेको फकिरा गिरी राजेश्वर गिरी माविमा आज विद्यालय व्यवस्थापन समितिका अध्यक्षका रुपमा पदभार ग्रहण गरिएको छ । गत स्थानीय निर्वाचनबाट वडा नं ७ मा वडाध्यक्षका रुपमा निर्वाचित सुनिल गुप्ताले आज विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै अध्यक्ष गुप्ताले जीतपुरको शिक्षामा आमूल परिवर्तन गर्ने, गुणस्तर सुधार गर्ने लगायतका प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ७ को यही असार नौ गते बसेको बैठकले नगर शिक्षा ऐन २०७५ परिच्छेद ५ दफा १९ को उपदफा १ (क) बमोजिम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदको लागि वडाध्यक्ष वा वडाध्यक्षले तोकेको व्यक्ति अध्यक्ष हुने प्रावधान रहेकोमा वडाध्यक्ष सुनिलकुमार गुप्तालाई नै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा समितिले सिफारिस गरी पठाएको थियो ।

पदभार ग्रहण कार्यक्रममा विद्यालयका प्रधानाध्यापकलगायत जीतपुर वजारका उद्योगी, व्यवसायी, समाजसेवी, शिक्षासेवी, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । उपस्थित सबैले टिका र खादा लगाइदिई वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुप्तालाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।