भारतबाट आयात हुने सयपत्री फूलमा सरकारले प्रतिबन्ध लगायो

कात्तिक ३ –

सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएशन नेपालले बताएको छ ।

हिजो बिहीवारदेखि ललितपुरको जावलाखेलमा सुरु भएको १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रममा बोल्दै फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताउनुभयो । उहाँले नेपाल अहिले फूलमा ९० प्रतिशत आत्मनिर्भर भएको बताउनुभयो । विगतका वर्षहरूमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाबाट आयात हुने गरेको भए पनि यो वर्ष रोक लगाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाल ९० देखि ९१ प्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर छ । विशेष गरेर भ्यालेन्टाइन डे, तिहार र जाडो मौसममा प्रतिकूल रहने हुँदा केही फूल आयात गर्न बाध्य छौँ । नेपालमा अहिलेसम्म कुनै पनि हाइब्रिड बिउको स्रोत नभएको र टिसु कल्चरबाट बिउ उत्पादन नहुने भएकाले आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । अझै १० वर्षसम्म १० प्रतिशत आयात गर्नुपर्ने अवस्था रहन्छ । अनियन्त्रितरूफमा पर्वहरूमा फूलको आयात भइरहेको छ, त्यसमा सरकारको ध्यान जान आवश्यक छ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले पुष्प व्यवसायमा लगानी र प्रविधि ल्याउन सके विश्वका सबै प्रकारका फूल नेपालमा नै उत्पादन गर्न सकिने बताउनुभयो ।