काठमाडौं, मंसिर १३-
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बीआईसीसी) अर्थात् संसद् भवन तत्काल खाली गर्न सरकारसँग माग गरेका छन् । आज सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो माग गरेका हुन् ।
उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सव गर्नका लागि सोहीस्तरको हल आवश्यक रहेको बताए । बीआईसीसी भवन संसद् बस्नका निम्ति नभई अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रूपमा सञ्चालनका लागि भएकाले तत्काल खाली गराउनुपर्ने बताए । सरकारले ठूलाठूला मेला, महोत्सव आयोजना गर्न हल निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
‘काठमाडौंमा अन्तराष्ट्रियस्तरको हल आवश्यक छ । वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बीआईसीसी) संसद् भवन चीनले अन्तराष्ट्रियस्तरको हलका लागि दिएको हो’, उनले भने, ‘त्यो संसद् बस्ने स्थान होइन । बीआईसीसी हललाई जतिसक्दो खाली गराउनुपर्छ । त्यो अन्तर्राष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन । बीआईसीसी अन्तर्राष्ट्रिय प्रदर्शनी हल चीन सरकारको सहयोगमा बनेको हो । मेला, महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिइएको सम्पत्ति हो । जुन प्रयोजनाका लागि दिइएको हो, त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ ।’ उनले मेला, महोत्सव गर्न पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।




