बागमती प्रदेशसभाको बैठक बस्दै

काठमान्डौं, असार १२ गते ।

बागमती प्रदेशको प्रदेश सभाको बैठक आज पनि बस्दै छ । सभाको बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ ।

बैठकमा प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय जनाएको छ । हिजो मङ्गबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को विभिन्न शीर्षकअन्तर्गत विभिन्न मन्त्रालयको विषयगत छलफल प्रारम्भ भएको थियो ।

यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

मङ्गलबार बसेको प्रदेशसभा बैठकबाट प्रदेश उच्च शिक्षा (पहिलो संशोधन)अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।