सिमरामा केटिएम कन्सल्टिङ ग्रुपको पहिलो वार्षिकोत्सव सम्पन्न

बाराको सिमरामा रहेको केटिएम कन्सल्टिङ ग्रुपले आफ्नो स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। सिमरास्थित श्रेष्ठ रेसिडेन्सी होटलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा प्याब्सन बारा अध्यक्ष राजु कार्की, सिमरा कलेजका सहप्राध्यापक शालिकराम अधिकारी, होटल तथा पर्यटन व्यवसायी संघ बारा अध्यक्ष शम्भु खड्गी, जेसिज सिमराका अध्यक्ष सुमित अधिकारी तथा युवा समाजसेवी सुजन कडेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले छोटो समयमा केटिएम कन्सल्टिङ ग्रुपले शैक्षिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। आगामी दिनमा पनि संस्थाले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।

केटिएम कन्सल्टिङ ग्रुप सिमरा शाखाका प्रमुख रितेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आस्क ग्लोबलका म्यानेजर परिवेश पौडेलले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा बोल्दै शाखा प्रमुख शर्माले छोटो समयमै संस्थाले सबैको मन जित्न सफल भएको बताउनुभयो।

सो अवसरमा शर्माले सिमरा शाखाको प्रगति विवरण सार्वजनिक गर्दै आगामी कार्ययोजना बारे जानकारी गराउनुभयो। कार्यक्रममा केटिएम कन्सल्टिङ ग्रुपले विभिन्न विधामा सहभागीहरूलाई उपहार समेत प्रदान गरेको थियो।

कार्यक्रममा ५० भन्दा बढी युवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई सिमरा शाखाका निशान शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदीप गौतमले गर्नुभएको थियो।