काठमाडौं, चैत २१-
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका हिमाली भू–भागमा सामान्यतया बदली भएको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली क्षेत्रसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। बाँकी भू–भागमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। साथै, सुदूरपश्चिमका तराई क्षेत्रसहित अन्य हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
आज राति पनि देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। रातिको समयमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै अन्य प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, बाँकी पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा राति पनि हावाहुरी चल्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।




