बारा, चैत २२-
बारामा आजदेखि सुरु भएको तेस्रो जीतपुरसिमरा क्रिकेट कप २०८२ को उद्घाटन खेलमा सर्लाहीले विजयी सुरुवात गरेको छ। पर्सा जिल्ला विरुद्ध भएको पहिलो खेलमा सर्लाहीले उत्कृष्ट प्रदर्शन गर्दै १७ रनको महत्वपूर्ण जित आफ्नो नाम दर्ता गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सर्लाहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। सर्लाहीका लागि जितेश मण्डलले ३० बलमा ४६ रन बनाउँदै टोलीको इनिङ्स सम्हाले। उनले ३ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै परिमर्जन यादवले २८ बलमा ४१ रन जोड्दा २ चौका र ४ छक्का प्रहार गरे।
यस्तै हेमन्त सिंहले १० बलमा १७ रन, राहुल महतोले अविजित १० रन तथा अन्य ब्याट्सम्यानले सानो–सानो योगदान दिए। सर्लाहीले अतिरिक्तबाट मात्रै १२ रन प्राप्त गरेको थियो।
पर्साका लागि बलिङतर्फ नितेश पटेल निकै किफायती सावित भए। उनले ४ ओभरमा १ मेडनसहित मात्र ६ रन खर्चेर २ विकेट लिए। वासिम मन्सुरीले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए भने चन्दन राम र आदर्श भण्डारीले समान १/१ विकेट लिए।
१४६ रनको लक्ष्य पछ्याएको पर्सा जिल्ला १८.४ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमा समेटियो। पर्साका लागि वासिम मन्सुरीले २४ बलमा २३ रन बनाउँदै सर्वाधिक रन जोडे। यस्तै अकुएब अन्सारीले २० बलमा १८ रन, आदर्श भण्डारीले १४ बलमा १६ रन, हसीम अन्सारीले ८ बलमा १४ रन, चन्दन रामले ९ बलमा १४ रन तथा सफवान अलीले ९ बलमा १२ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। पर्साले अतिरिक्तबाट १७ रन पाएको थियो।
सर्लाहीका बलरहरूले सुरुदेखि नै दबाब कायम राख्दै पर्साको इनिङ्स धराशायी बनाए। अभय यादव र जितेश मण्डलले समान ३/३ विकेट लिएर पर्साको ब्याटिङ लाइनअपलाई ठूलो धक्का दिए। राहुल महतोले २ विकेट लिए भने अली हसन र चक्रधर यादवले समान १/१ विकेट लिए।
यस जितसँगै सर्लाहीले प्रतियोगितामा सुखद सुरुवात गर्दै २ अंक जोडेको छ भने उद्घाटन खेलमै पराजित भएको पर्सा दबाबमा परेको छ। प्रतियोगिताको पहिलो दिन नै दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल भए पनि सर्लाहीले ब्याटिङ र बलिङ दुबै विभागमा सन्तुलित प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पारेको हो।




