काठमाडौं, चैत २५-
हाल देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायु को प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, यस प्रणालीको प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बागमती र कोशी प्रदेशका हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य प्रदेशमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। यी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, मधेस प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा पनि चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ। यसैगरी, मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा, साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात को सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले सम्भावित वर्षा, चट्याङ्ग, हावाहुरी, असिना र हिमपात का कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




