काठमाडौं, चैत २७-
पूर्वगृहमन्त्री रमेश लेखक ले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन्। उनले गत भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ भन्दै त्यसकै आधारमा आफूमाथि लगाइएको फौजदारी अभियोग निराधार रहेको बताएका छन्।
उनका अनुसार सोही प्रतिवेदनका आधारमा उनलाई १३ दिनसम्म नियन्त्रणमा राखिएको थियो। तर अन्ततः अदालतको आदेशपछि उनी रिहा भएका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्-
“गत भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु।”
यसै क्रममा उनले सर्वोच्च अदालत प्रति सम्मान व्यक्त गर्दै आफू कानून पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएको बताएका छन्।
उनले आगामी दिनमा कानुनी तथा राजनीतिक लडाइँ जारी रहने स्पष्ट पारेका छन्। साथै, आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, अधिकारकर्मी, विभिन्न राजनीतिक दल, सञ्चारकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
“मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्णप्रति आभार प्रकट गर्दछु। परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म कानून पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ,” उनले उल्लेख गरेका छन्।




