तेस्रो जीतपुरसिमरा क्रिकेट कप: एक रनले सर्लाही च्याम्पियन 🏆

जीतपुर, चैत्र २८ गते ।

तेस्रो जीतपुरसिमरा क्रिकेट कपको उपाधि सर्लाही जिल्ला क्रिकेट संघले जितेको छ। औराहस्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सर्लाहीले भरतपुर क्रिकेट एकेडेमी (चितवन) लाई १ रनले पराजित गर्दै उपाधि उचालेको हो।

सर्लाहीले दिएको १६१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन मात्रै बनाउन सक्यो। अन्तिम ६ बलमा १२ रन आवश्यक रहेको अवस्थामा चितवन १० रनमै रोकियो।

चितवनका प्रतिक श्रेष्ठले ४७ रन बनाउँदै टोलीलाई जित नजिक पुर्‍याए। उनले ३७ बलमा ४ छक्का र १ चौका प्रहार गरे। रोहन झाले २३ बलमा ४३ रन (४ छक्का, ३ चौका) जोड्दा रिजन काफ्लेले ३१ र आर्या महतोले १६ रन बनाए।

बलिङतर्फ सर्लाहीका राहुल महतोले २ विकेट लिए भने चक्रधार यादव र अभय यादवले १/१ विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङ गरेको सर्लाहीले ५ विकेट गुमाउँदै १६० रन बनाएको थियो। अली हसनले ४८ बलमा ५३ रन (२ छक्का, ५ चौका) बनाए भने जितेश मण्डलले १४ बलमै ३८ रन (४ छक्का, २ चौका) को विस्फोटक इनिङ खेले। ओपनर आरिफ राजाले २८ र परिमार्जन यादवले २० रन जोडे।

चितवनका दिपेश श्रेष्ठले २ विकेट लिए भने सुमित अर्याल, प्रतिक श्रेष्ठ र सुमित शर्माले १/१ विकेट लिए।

उपाधि विजेता सर्लाहीले २ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता चितवनले १ लाख रुपैयाँ हात पार्‍यो। सर्लाहीका अली हसन फाइनलका ‘प्लेयर अफ द म्याच’ घोषित भए र ५ हजार रुपैयाँ पाए। साथै उनी नै प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ पनि बने।

प्रतियोगिताको उत्कृष्ट ब्याटर बारा जिल्ला क्रिकेट संघका साहिल पटेल घोषित भए भने उत्कृष्ट बलरको उपाधि सर्लाहीका जितेश मण्डलले जिते।
विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

चैत २१ गतेदेखि सुरु भएको प्रतियोगितामा बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनका टोलीहरूको सहभागिता रहेको थियो।