सापटी पैसा फिर्ता नदिएपछि पिक प्रहार गरी बारामा एक जनाको हत्या

  • जानकारी नेपाल,डेस्क ।

बारामा सापटी लिएको पैसा फिर्ता नगरेपछि एक वृद्धको हत्या गरिएको छ । लामो समयदेखि सापटी लिएको पैसा फिर्ता माग्दा नदिएपछि रिसमा आएर जिल्लाको कलैया उपमहानगरपालिका ९ निवासी ७२ वर्षीय अहमद मियाँ चुडिहारको हत्या भएको हो ।

मियाँलाई उनकै चिनजानका सोही स्थान बस्ने ३१ वर्षीय बजरङ्गी साह तुरहाले हत्याए गरेको बारा प्रहरीले जनाएको छ । तुरहालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको बारा प्रहरीका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तुरहाले गत जेठ २७ गते चुडिहारको आँप बगैँचामा रहेको फुसको छाप्रोमा शरीरको विभिन्न भागमा हतियार प्रहार गरी हत्या गरेका थिए । तुरहाले मृतकलाई पैसा दिएको र फिर्ता माग्दा वृद्धले अहिले छैन पछि दिन्छु भन्दा रिसको झोकमा आएका तुरहाले पिक प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी थापाले बताए ।

हत्या पश्चात तुरहाले चुडिहारसँग भएको मोबाइल र केही नगद लिएर फरार भएका थिए । तुरहालाई खोजतलासका क्रममा उनको साथबाट मृतकले प्रयोग गर्ने मोबाइल सेटपनि बरामद भएको छ । पक्राउ परेका तुरहालाई कर्तव्य ज्यान मुद्दाका अदालतबाट पाँच दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको छ ।