- जानकारी नेपाल, डेस्क ।
बाराका राकेशभक्त पौडेलको हत्याका अभियुक्तहरूलाई जिल्ला अदालत बाराले वीरगञ्ज कारागार चलान गरेको छ । पौडेलको हत्यामा १२ जनालाई कर्तव्य ज्यान मुद्दामा कारागार चलान गरिएको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौल बस्ने चिरंजिवी भक्त पौडेलको जाहेरीका आधारमा पक्राउ परेका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले वीरगञ्ज कारागार चलान गरेको हो । जाहेरी दिने चिरंजिवीका छोरा राकेशभक्त पौडेललाई बैशाख ३० गते मार्ने मनसायले कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।
अनुसन्धानको क्रममा अभियुक्त ठहरिएका बाराको जितपुरसमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौल बस्ने २६ वर्षीय सन्दिप थापा, वडा नम्बर २ बस्ने ४२ वर्षीय के.वी. भन्ने खगेन्द्र रिजाल, वडा नम्बर २ कै ३५ वर्षीय उद्धव अधिकारी, वडा नम्बर ३ बजनी बलुवा बस्ने ४८ वर्षीय अर्जुन भन्ने बलराम प्रसाद चिमरिया, वडा नम्बर ६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, २४ वर्षीय सुजन भन्ने सुमन लामा, वडा नम्बर ६ का २६ वर्षीय राजु अधिकारी कारागार चलान भएका छन् ।
त्यस्तै वडा नम्बर ३ बस्ने ३४ वर्षीय मसिने मगर भन्ने कुमार मगर, वडा नम्बर ६ का २६ वर्षीय सुदिप घिमिरे, वडा नम्बर ३ का २६ वर्षीय सन्तोष खत्री, वडा नम्बर ६ का ५० वर्षीय दुर्गा देवी खत्री र सोही ठाउँका ५० वर्षीय सन्ते बछार पनि कारागार चलान भएका छन् ।
बारा जिल्ला अदालतको अषाढ ९ गतेको आदेशअनुसार पुर्पक्षका लागि उनीहरुलाई कारागार चलान गरिएको हो । एक जना नाबालिकलाई बाल सुधार गृह भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीषक राजेश थापाले जानकारी दिनुभयो ।




