- सप्तरी, साउन २४ ।
मधेस प्रदेशको सप्तरी जिल्लाको दुई छुट्टा–छुट्टै स्थानको पोखरीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित हजुरबुबा देवनारायण पण्डितको घर आएका झापाको घैलाडुब्बा–६ घर भएका सञ्जय पण्डितका छोरा दुई वर्षीय दीप पण्डितको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
गाउँको डिहबार थानको पूर्व रहेको पोखरी नजिकै खेल्ने क्रममा चिप्लिएर डुबेका बालकलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता जिल्लाकै विष्णुपुर गाउँपालिका–३ बस्ने सीताराम सदाको छोरा ३५ वर्षीय लल्कु भनिने शिवशङ्कर सदाको पोखरीमा डुबेर मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका–१ र ३ को सीमामा रहेको कट्टी मुसहरीस्थित सार्वजनिक पोखरीमा फुलेको कमलको फूल टिप्न गएका सदाको डुबेर मृत्यु भएको स्थानीयवासी राजेन्द्र सदाले बताए ।
घटनास्थलमा पुगेको बरख गणका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरी सदालाई गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेकोमा आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।




