एस.एस. पटेल, बारा ।
बाराको सिमरामा संचालन भएको दोस्रो कोसेली कपको उपाधि सिमराको नव जनप्रगति युवा क्लबले उचालेको छ । त्रिशूल युवा क्लब बकुलियालाई फाइनल खेलमा स्तब्ध पार्दै नव जनप्रगतिले खेलको उपाधि उचालेको हो ।
नव जनप्रगति युवा क्लब सिमराले त्रिशूल युवा क्लब बकुलियालाई ३-१ गोलको अन्तरले पराजित गरेको हो । खेलको पहिलो हापमा नव जनप्रगतिले १ लाेग गरेको थियो भने त्रिशूल युवा क्लबले एक गोल पनि गर्न सकेको थएन ।
दोस्रो हाप पछिको खेलमा पुन: नव जनप्रतिले १ गोल थप्दै २-० गोलको अग्रता कायम गरेको थियो । दोस्रो हापको अन्तिम १० मिनेटको खेलमा त्रिशूल युवा क्लबले एक गोल फर्काउदै खेलमा कमब्याक गरेको थियो तर पुन अन्तिम ३ मिनेटको खेलमा नव जनप्रगतिले अर्को एक गोल थप्दै ३-१ को स्कोर पुगाएको थियो र तेहि स्कोर निर्णायक बन्न पुग्यो ।
खेल आयोजक कोसेली युथ क्लबका अध्यक्ष दधिर प्याकुरेलको अध्यक्षता सम्पन्न भएको फाइनल खेलको प्रमुख अतिथि नेपाल सरकारको पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ रहनु भएको थियो भने विशिष्ट अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उप-मेयर भोला अधिकारी, जीतपुरसिमरा २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ रहनु भएको थियो ।
खेलको उपाधि जितेको नव जनप्रगति युवा क्लब सिमराले ३० हजार र दोस्रो हुने त्रिशूल युवा क्लब बकुलियाले २० हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र पाएको थियो ।




