चितवन, असोज २७–
नेकपा एमालेबाट चितवन ३ मा उमेदवारी दिएका रामप्रसाद न्यौपानेको उमेदवारी पार्टी अध्यक्ष केपी ओलीले काठमाडौँबाटै फिर्ता लिइदिए । ओलीले इमेल मार्फत न्यौपानेको उमेदवारी फिर्ता लिएपछि चितवन एमालेका नेता असन्तुष्ट देखिन्छन् ।
एमालेले अब कांग्रेसबाट बागी उमेदवारी दिएका दिनेश कोइरालालाई सघाउने भएको छ । असन्तुष्ट एमाले कार्यकर्ताले भने कोइराला भन्दा राप्रपाका विक्रम पाण्डे उचित उम्मेदवार भएको बताएका छन् । ओलीको कार्यशैलीप्रति असन्तुष्ट कार्यकर्ताले पाण्डेलाई जिताउनुपर्ने अभिव्यक्ति दिन थालेका छन् ।
उता कांग्रेसले कोइराला र उनका प्रस्ताव र समर्थकलाई पार्टीबाट निश्कासन गरिसकेको छ । यद्यपी कांग्रेसले अझै पनि कोइरालाको उमेदवारीलाई निश्क्रिय बनाउन प्रयत्न गर्ने देखिन्छ ।आफुलाई समर्थन गरेकामा कोइरालाले एमालेलाई धन्यवाद दिएका छन् ।
‘एक थोपा रगत नबगाई क्रान्ति गर्नका लागि हामीले उम्मेदवारी दिएका हौं । देशमा रचनात्मक क्रान्तिको थालनी चितवनबाट गर्न सबैमा हार्दिक अपिल गर्दछौं’, उनले फेसबुकमा लेखेका छन् । उनले भने–‘मलाई आशा तथा विश्वास छ नेपाली कांग्रेसले पनि हाम्रो उमेदवारीलाई समर्थन र साथ दिनेछ । यसका लागि विभिन्न तरिकाले उच्चस्तरीय पहल भइरहेको जानकारी गराउँदछौं ।’
यससँगै चितवन ३ मा बागी उमेदवार कोइराला, माओवादी केन्द्रका उमेदवार डा भोजराज अधिकारी र राप्रपाका पाण्डेबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । कोइराला कति दिनसम्म आफ्नो अडानमा टिक्छन् त्यो भने हेर्न बाँकी नै छ । स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनका उमेदवार विरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा बागी उमेदवारी दिएपछि कांग्रेसले जगन्नाथ पौडेललाई पार्टीबाट निश्कासन गरेको थियो ।
एमालेले बागी उमेदवार कोइरालालाई सघाउने निर्णय किन ग¥यो ? भनेर धेरैलाई खुलदुली लागेको छ । चितवन ३ कांग्रेस बलियो भएको क्षेत्र हो । यस क्षेत्रमा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् । यसै क्षेत्रमा गठबन्धनका साझा उमेदवार माओवादी केन्द्रका अधिकारी विरुद्ध कांग्रेस केन्द्रिय सदस्य कोइराला र कांग्रेसबाट कारबाही भोगेका पौडेलले स्वतन्त्र उमेदवारी दिएपछि कांग्रेसको भोट बाँडिने भएको छ ।
स्थानीय तहमा जस्तै कांग्रेसको असन्तुष्ट कार्यकर्ताको भोट बागी उमेदवारलाई जाने देखेपछि एमालेले उमेदवारी फिर्ता लिएको हो । असन्तुष्ट कार्यकर्ताको भोट नआउने र राप्रपाका उमेदवार विक्रम पाण्डेलाई जसरी पनि हराउने रणनीति अनुसार ओलीले न्यौपानेको उमेदवारी फिर्ता लिएको नेताहरु बताउँछन् । ‘स्थानीय तहको निर्वाचनमा राप्रपाले सोचेअनुसार सहयोग गरेन । सोहि बदला तिर्न र कांग्रेसको असन्तुष्ट कार्यकर्ताको भोट पनि नआउने देखेपछि बागी उमेदवारलाई समर्थन गर्नुपर्ने भएको हो’, एमालेका एक नेताले भने ।
यससंगै माओवादी केन्द्रका उमेदवार अधिकारीलाई पनि जित्न कठिन बनेको छ । जीत सुरक्षित नदेखेपछि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ मा पुगेका हुन् । प्रचण्ड जस्तो व्यक्तिले जीत सुनिश्चित हुने नदेखेर छाडेको क्षेत्रमा अधिकारीलाई जीत्न कठिन छ । त्यसमा पनि गठबन्धनको ठूलो दल कांग्रेसबाट बागी उमेदवार पर्नु र ती उमेदवारलाई एमालेले समर्थन गर्नु माओवादीलाई चिन्ताको विषय बनेको छ ।
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा एमालेसँग बाम गठबन्धन हुँदा प्रचण्डले नौ हजार ३४१ मतान्तरले विक्रम पाण्डेलाई पराजित गरेका हुन् । प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए । त्यतिबेला कांग्रेसले पाण्डेलाई समर्थन गरेको थियो । अहिले माओवादीसँग एमाले साथमा छैन । न राप्रपा नै छ । कांग्रेस पनि पुरै साथमा छैन ।
गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका बागी उमेदवार पौडेलले १४ हजार ७२८ मत ल्याएको थियो । कांग्रेसको असन्तुष्ट पक्षको मत आफुलाई आउने एमालेको सोच गलत सावित भएपछि यस पटक हच्किएको हो । यस पटक कांग्रेसको केन्द्रिय सदस्यले नै बागी उमेदवारी दिएपछि एमालेले उनैलाई समर्थन गर्न पुगेको हो । बागी उमेदवारी दिएका कोइराला संस्थापन इतरका हुन् । चितवन कांग्रेसमा संस्थापन इतर बलियो छ ।
२०७४ मा भरतपुर महानगरपालिकाको मेयरको टिकट पाएका यीनै कोइरालाको उमेदवारी पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौँबाटै फिर्ता लिएका थिए । कोइरालाले ५ वर्ष अघि भोगेको नियति यस पटक एमाले चितवनका अध्यक्ष समेत रहेका न्यौपानेले भोगेका छन् ।




