चैत्र १६ देखि पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० हुने

बारा, चैत्र १० गते ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० हुने भएको छ । जन कल्याणकारी क्लबको आयोजनामा चैत्र १६ गतेदेखि प्रतियोगिता हुने भएको हो ।

आयोजक क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । चैत्र २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोतिमा ८ वटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको बिजेताले रु २ लाख र उप बिजेताले रु १ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा वीरगञ्ज युनाईटेड, मकवानपुर ११, एपीएफ बर्दिवास, सर्लाह, चितवन फूटबल क्लब, पर्सागढी बढ्निहार, निजगढ र आयोजक बकुलिया भवानिपुर क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको मुख्य सहयोगी संस्थामा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय रहेको छ । करिव २० लाखको लागतमा आयोजना हुन लागेको पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० फुटबल प्रतियोगिता आयोजना गर्न उपमहानगरपालिकाको कार्यालयले ६ लाख र वडा नम्बर ५ को कार्यालयले ५ लाख रुपैया सहयोग गरेको छ ।

क्लबका अध्यक्ष श्रीराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य एवंं आयोजक क्लबका सचिव ईश्वर चौधरी, भुपु खेलाडी दिपलचल राम, जन कल्याणकारी क्लबका संस्थापक अध्यक्ष केश्वरी धामी, उमेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।