धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम, कात्तिक २ । धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार गएराति सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–७ निवासी २० वर्षीय धिरज मण्डलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।

दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई जना पनि घाइते भएका छन्। घाइते हुनेमा १६ वर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका–२ निवासी २० वर्षीय राकेश मण्डल रहेका छन्। प्रहरीका अनुसार निरजको अवस्था गम्भीर छ।

घाइते दुवै जनाको जनकपुरधामस्थित योगी ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरीले बस र त्यसका चालक धनुषाधाम नगरपालिका–२ निवासी २२ वर्षीय नागेन्द्र महरालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो।