बारा जिल्लाको कोल्हबीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार राति भएको दुर्घटनामा कोल्हबी नगरपालिका–२ निवासी २८ वर्षीय अमित मोक्तानको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानलाई तत्काल उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २४ वर्षीय मनिष तामाङ र २५ वर्षीय मनोज लामा घाइते भएका छन्। उनीहरूको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार तामागढी–कोल्हबी सडकखण्डअन्तर्गत कोल्हबी नगरपालिका–२ स्थित न्यौपाने टोलमा म.प्र.०३–०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिएका हुन्।






