बारा, साउन ०३ गते ।
मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । कांग्रेस सहभागी भएसंगै बिहिकार मधेस प्रदेश सरकार बिस्तार हुँदैछ । कांग्रेसले अर्थ मन्त्रालयसहित चार मन्त्रालय लिने सहमति भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
नेपाली कांग्रेसले अर्थसहित चार मन्त्रालय पाउने गरी सहमति जुटेपछि मुख्यमन्त्री सिंहले रौतहटका सुनिल यादवलाई अर्थ, पर्साका जनार्दन सिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, धनुषाका शेषनरायण यादवलाई उर्जा, सिँचाई तथा खानेपानी र सर्लाहीका कौशल किशोर रायलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका छन् ।
मधेस सरकारमा सहभागी चारै जना मन्त्रीहरुलाई बिहिबार साँझ ५ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ। कांग्रेसले एक साताअघि नै मन्त्रीको नाम टुंगो लगाएको थियो। जनमतले अर्थ मन्त्रालय आफूसँगै राख्ने अडान लिएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो । कांग्रेसले नै अर्थ मन्त्रालय पाउने निश्चित भएपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको हो।
शपथ ग्रहण समारोहमा प्रमुख अतिथिहरु, सरकारी अधिकारीहरु र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ।



