जीतपुरसिमरालाई समृद्ध बनाउन सबै जनप्रतिनिधि र सरोकारवाला एक हुन आवश्यक

एस.एस. पटेल, बारा, साउन ४-

जीतपुरसिमरा उपमहानगरपालिकामा जनप्रतिनिधिहरुको आपसि मतभेदका कारण जीतपुरसिमराको विकासमा प्रत्यक्ष असर परिरहेको छ । उपमहानगरलाई समृद्ध बनाउन सबै निर्वाचित जनप्रतिनिधि र सरोकारवाला एक हुन आवश्यक देखिन्छ ।

नगरको दशौँ नगरसभा सबै कार्यपालिका सदस्यहरुको सहमतिमा नभएको भन्दै नगरसभामा कुर्सी हानाहान भएको थियो । जीतपुरसिमरा उपमहानगरको नगर प्रमुख राजन पौडेलले आफ्नो एक्लौटी दम्बमा नगरसभा सम्पन्न गरेको भन्दै बहुमतको सदस्यहरु निरास बनेका थिए । उनीहरु यस विरुद्ध अदालत सम्म पुगे । तर अदालतले पनि नगर प्रमुखलाई नै ग्रिन सिग्नल दिएको छ ।

यता आफुहरुको असहमतीमा नगरसभा भएको भन्दै नगर उप–प्रमुख भोला प्रसाद अधिकारीको एउटा गुठनै नगरसभाको विपक्षमा लागेको छ । यता नगर प्रमुख पौडेलको आफ्नो गुठले नियमबद्ध नगर सभा पारित भएको दावि गर्दै आएको छ ।

विभिन्न सामाजिक संजालमा नगर प्रमुख र नगर उप–प्रमुखको गुठले एक अर्काको विरुद्धामा उत्रिदा नगरका जनताहरु नगरको भविष्यको विषयमा चिन्तित बनेका छन् । उपप्रमुखको गुठले नगर प्रमुखले गर्न खोज्ने कामको विरोद्ध गरिरहेका छन् भने नगर प्रमुखको गुठले उपप्रमुखको कामको विरोद्ध गरिरहेका छन् ।

यसरी दुई गुठले एक अर्काको कामको विरोद्धमा उत्रिदा नगरकोे प्रशासनिक देखि अन्य काममा समेत असर परिरहेको छ । दुई गुठको आपसी विवादले नगरको विकासनै नहुने अवस्था निर्माण भइरहेको छ ।

यता जनताको अभिमतलाई जनप्रतिनिधिहरुले ख्याल नगरेको भन्दै सामाजिक संजालमा छुटै बहस चलिरहदा जनप्रतिनिधिहरुको समेत यस विषयमा ध्यानाकर्षण भएको छ । अहिले नगरको प्रमुख र उपप्रमुख दुबैको गुठले आपसी सहमतीमा अघि बढ्न चाहिरहेका छन् तर उपयुक्त समय भने नमिलेको केही जनप्रतिनिधिले बताएका छन् ।

नगर प्रमुख राजन पौडेलले पनि मिलेर जान आफु तयार रहेको बताइरहदा उपप्रमुखको गुठले पनि आफुहरु पनि मिलेर जान तयार रहेको अभिव्यक्ति दिरहेका छन् ।

दुबै गुठलाई एक भएर नगरको विकासमा जुट्न जनस्तरबाट आवाज उठ्न थालेपछि जनप्रतिनिधिहरु पनि यस विषयमा सकरात्मक देखिन थालेका छन् । यसरी आपसी मतभेदले नगरको समृद्ध नहुने जनप्रतिनिधिहरुले पनि महसुस गरिसकेका छन् ।