नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस

काठमाडौं, पुस १८-

नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि गरिएको सिफारिस सूचीका आधारमा बुधवार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू कुबेर कडायत र रविन्द्र केसीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।

गत मंगलबार एआईजी किरण बज्राचार्य अनिवार्य अवकाशमा गएकी थिइन्। बज्राचार्यसँगै ११ पुसमा अर्का एआईजी भरतबहादुर बोहरा अनिवार्य अवकाशमा गएका थिए।

एआईजी बढुवाका लागि डीआईजीहरु कुवेर कडायत, चन्द्रकुवेर खापुङ, रवीन्द्र केसी, जनक भट्टराई बढुवाको दाबेदार थिए। ​ कडायत र केसी आउँदो ५ चैतमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन्।