बारा, बैशाख १ गते ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सो भवनको उद्घाटन गर्नु भएको हो ।
वडाध्यक्ष शिवशंकर महतो कुशवाहाको अध्यक्षतामा भएको वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख राजन पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने नगर उपप्रमुख भोला प्रसाद अधिकारी विष्शिठ अतिथि रहनु भएको थियो ।
उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख पौडेलले स्थानीयस्तरमा जनताको प्रत्यक्ष सरोकारका सेवा प्रदान गर्ने वडाको कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ नवनिर्मित भवन निर्माण गरिएको बताउनुभयो। “वडावासीले सजिलो र सम्मानजनक सेवा प्राप्त गर्न सकून् भन्ने हाम्रो चाहना हो,” उहाँले भन्नुभयो।
नगर उपप्रमुख भोला अधिकारीले नगरपालिकाले सम्पूर्ण वडामा सेवा प्रवाहलाई व्यवस्थित गर्न चरणबद्ध रूपमा पूर्वाधार विकास गरिरहेको जानकारी दिनुभयो। “यो भवन वडा–८ का नागरिकको अधिकार र पहुँचको प्रतीक हो,” उहाँले भन्नुभयो। वडाध्यक्ष शिवशंकर महतो कुशवाहाले पुरानो भवन जीर्ण अवस्थाका कारण सेवा प्रवाहमा समस्या हुने गरेको स्मरण गर्दै अबको दिनमा जनतालाई सहज सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “पहिले स्वास्थ्य चौकीको दुई कोठे भवनबाट सेवा दिइरहेका थियौं, अब भने ४ कोठे सुविधासम्पन्न भवनबाट सेवा दिन पाउँदा खुसी लागिरहेको छ,” वडाध्यक्ष कुशवाहाले भन्नुभयो।
करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवन आधुनिक सुविधा सहितको रहेको र यसबाट सेवा प्रवाहमा गुणस्तरीयता आउने जनाइएको छ।उक्त वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा जीतपुरसिमरा-७ का वडा वडा अध्यक्ष सुलिन कुमार गुप्ता, वडा नम्बर १३ का वडा अध्यक्ष, वडा नम्बर ८ कै वडा सदस्यहरू समाजसेवी, विभिन्न संघ संस्थाको प्रतिनिधि, वडा सचिव स्मृति वर्मा लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सहायक वडा सचिव सन्देश सिंहले गर्नुभएको थियो।



