महोत्तरीमा वन अतिक्रमण हटाउन डोजर चलाउन खोजेपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । गौशाला नगरपालिका–१ र बर्दिवास नगरपालिका–५ क्षेत्रमा रहेका करिब २० घरटहरा हटाउन सुरक्षाकर्मी र डोजर परिचालन भएपछि स्थानीय आन्दोलित बनेका हुन् ।
आक्रोशित स्थानीयले टायर बालेर बिहानदेखि सडक बन्द गरेका थिए । पछि जनप्रतिनिधि र प्रशासनबीच वार्ता भएपछि आजका लागि डोजर चलाउने काम रोकिएको छ । डिभिजन वन कार्यालय महोत्तरीले भने उक्त संरचना वन अतिक्रमण गरेर बनाइएकाले कानुनी प्रक्रिया अनुसार हटाउन लागिएको जनाएको छ ।





