जीतपुरसिमराको नयाँ नीति : स्मार्ट शिक्षा, डिजिटल स्वास्थ्यदेखि मालपोत सेवा स्थानीय तहबाटै

जीतपुर, असार २२-

जीतपुरसिमरा उपमहानगरपालिका को १४औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। नगर प्रमुख राजन पौडेल ले नगरलाई प्रविधिमैत्री, व्यवस्थित, आत्मनिर्भर र सुशासित स्थानीय सरकारका रूपमा विकास गर्ने लक्ष्यसहित बहुआयामिक योजना सार्वजनिक गरेका हुन्।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सुशासन, वातावरण, पर्यटन, खेलकुद, सामाजिक सुरक्षा र भूमि व्यवस्थापनलगायत १६ प्राथमिक क्षेत्रलाई समेटेको छ। कार्यक्रममा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरूको उपस्थिति रहेको थियो।

स्मार्ट शिक्षा र डिजिटल स्वास्थ्यमा जोड: उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूमा स्मार्ट कक्षा र ई–लाइब्रेरी विस्तार गर्ने, विद्यालयहरूमा साझा पोशाकको अवधारणा लागू गर्ने तथा प्रधानाध्यापक नियुक्तिलाई प्रतिस्पर्धामूलक बनाउने नीति अघि सारेको छ।

स्वास्थ्यतर्फ ‘घरघरमा नगर अस्पताल’ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै डिजिटल हेल्थ रेकर्ड, अनलाइन स्वास्थ्य परामर्श सेवा तथा विशेषज्ञ उपचार सेवा विस्तार गरिने भएको छ। नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउनेदेखि विपन्न र पछाडि परेका समुदायका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाइने नीति पनि समेटिएको छ।

पूर्वाधार विकासमा नयाँ अवधारणा: सडक ढलानभन्दा कालोपत्रेलाई प्राथमिकता दिने, जीआईएसमा आधारित स्मार्ट सडक निर्माणलाई निरन्तरता दिने तथा ढल, नाला र सडकको आकस्मिक मर्मतका लागि ‘पूर्वाधार एम्बुलेन्स सेवा’ सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।

त्यसैगरी तीन तलाभन्दा माथिका भवनमा अग्नि नियन्त्रण प्रणाली अनिवार्य गर्ने, हरित भवन अवधारणा लागू गर्ने र भवन अनुमति प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी गरिएको छ।

कृषिमा प्रविधि, बजार र भण्डारण: कृषकले उत्पादन गरेको वस्तुको बिक्री व्यवस्थापनका लागि स्मार्ट कृषि एप सञ्चालन गरिनेछ भने ग्रामीण कृषि हाटबजारको विस्तार गरिने भएको छ। कृषि उत्पादनको संरक्षण र निर्यातलाई सहज बनाउन शीत भण्डार निर्माण, माटो तथा पशुपन्छी प्रयोगशाला स्थापनाका लागि संघ र प्रदेश सरकारसँग पहल गरिने नीति उल्लेख गरिएको छ।

डिजिटल सुशासन र पेपरलेस कार्यालय: उपमहानगरपालिकाले कार्यालय प्रशासनलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने लक्ष्यसहित अफिस अटोमेसन, डिजिटल हस्ताक्षर, क्यूआर प्रतिक्रिया प्रणाली, नागरिक सुझाव पेटिका तथा हटलाइन सेवा सञ्चालनमा ल्याउने जनाएको छ। कर्मचारी र जनप्रतिनिधिको कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कार तथा दण्डको व्यवस्था समेत गरिने भएको छ।

करमा राहत, सेवामा सहजता: राजस्व प्रणालीलाई करदातामैत्री बनाउने उद्देश्यसहित करको दायरा विस्तार गर्ने र मालपोत करमा १० देखि २५ प्रतिशतसम्म छुट दिने घोषणा गरिएको छ। एकल महिला तथा अपाङ्गता भएका व्यक्ति नेतृत्वमा सञ्चालित उद्योग तथा व्यवसायलाई कर छुटको व्यवस्था समेत गरिने भएको छ।

भूमि प्रशासन स्थानीय तहबाटै: नीति तथा कार्यक्रमको एक महत्वपूर्ण पक्ष भूमि व्यवस्थापनलाई मानिएको छ। हाल मालपोत र नापी कार्यालयबाट प्रवाह भइरहेका सेवाहरू क्रमशः उपमहानगरपालिकामार्फत उपलब्ध गराउने लक्ष्य राखिएको छ। जग्गा वर्गीकरण कार्य सम्पन्न गर्ने, भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउन पहल गर्ने तथा सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिइने जनाइएको छ।

पर्यटन, खेलकुद र सामाजिक सुरक्षामा विशेष प्राथमिकता: थारु र दनुवार समुदायको संस्कृति संरक्षणका लागि होमस्टे तथा संग्रहालय प्रवर्द्धन गरिनेछ भने सिद्धबाबा मन्दिर, अमलेखगञ्ज हात्तिसार र पर्सा राष्ट्रिय निकुञ्ज लाई जोडेर पर्यटन गन्तव्य विकास गर्ने योजना ल्याइएको छ।

खेलकुदतर्फ छुट्टै कोष स्थापना, सिमरा रङ्गशाला निर्माण तथा क्रिकेट रङ्गशालाको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिएको छ। साथै प्रतिफल नदिने खेल संस्था तथा क्लबहरूलाई दिइँदै आएको अनुदान पुनरावलोकन गरिने नीति लिइएको छ।

समग्रमा, जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि डिजिटल सुशासन, स्मार्ट सेवा, पूर्वाधार विकास र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अब यी योजनाहरू कार्यान्वयनको चरणमा कति प्रभावकारी रूपमा रूपान्तरण हुन्छन् भन्ने विषय चासोको केन्द्र बनेको छ।