महोत्तरी, जेठ २९-
महोत्तरीको बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतो बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। लामो समयदेखि फरार सूचीमा रहेका महतोलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
महोत्तरी जिल्ला अदालतको आदेशअनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका महतोलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार अदालतबाट जारी आदेशका आधारमा खोजी कार्य तीव्र बनाइएका बेला उनलाई बिहीबार पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार पक्राउ परेका वडाध्यक्ष महतोलाई हाल इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखिएको छ। उनीमाथि बैंकिङ कसुरसम्बन्धी आरोपबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको डीएसपी गोलेले जानकारी दिनुभयो।
स्थानीय तहका जनप्रतिनिधि नै बैंकिङ कसुरको मुद्दामा पक्राउ परेपछि उक्त घटनाले महोत्तरीको राजनीतिक तथा सामाजिक वृत्तमा समेत चर्चा पाएको छ। प्रहरीले भने अनुसन्धान प्रभावित नहोस् भनेर मुद्दासम्बन्धी थप विवरण सार्वजनिक नगरिएको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।






