बाढी प्रभावितको उद्धार र राहतका लागि सरकारद्वारा १२ टोली गठन

काठमाडौँ, भदौ ११ — सरकारले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा आवश्यक सेवा पुनःस्थापनाका लागि १२ वटा विशेष टोली गठन गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न मन्त्रालय, सुरक्षा निकाय तथा सम्बन्धित संस्थाका प्रतिनिधि सम्मिलित टोली गठन गरी फोकल पर्सनसमेत तोकेको जनाएको छ।

प्राधिकरणले सञ्चार सेवा पुनःस्थापना, विद्युत् आपूर्ति, खोज तथा उद्धार, स्वास्थ्य तथा उपचार, शव व्यवस्थापन, अन्तर्राष्ट्रिय सहायता समन्वय, सडक तथा यातायात सञ्चालनलगायतका कार्यका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको छ।

त्यस्तै बाढीबाट भएको क्षतिको मूल्यांकन, बेपत्ता व्यक्तिको खोज तथा परिवारलाई सहायता, खाद्य तथा अत्यावश्यक राहत सामग्री आपूर्ति र हेलिकप्टरमार्फत उद्धारका लागि पनि विशेष टोली गठन गरिएको छ।

सुरक्षा निकाय, विभिन्न मन्त्रालय र स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य प्रभावकारी बनाउने उद्देश्यले टोलीहरू गठन गरिएको प्राधिकरणले जनाएको छ।

यस्तै, सकुशल उद्धार गरिएका, बेपत्ता भएका तथा मृतक व्यक्तिहरूको विवरण संकलन गरी सार्वजनिक गर्न पनि छुट्टै टोली गठन गरिएको छ।