माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले कार्यकर्तालाई पैसा बाड्नको लागि मनपरी गर्दै हिडेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताएका छन् ।
काठमाडौँमा घाँटीको उपचार गराइरहेका अधिकृत गौतमले नारायणी अनलाइनसँग मेयर ढकालले आफ्नो अनुकुल बजेट बनाएर माओवादी कार्यकर्ताहरुलाई पैसा बाड्न खोजेको आरोप लगाएका हुन् ।
उनले भने, ‘ मैले नगरसभा छिट्टै गरौं भन्दै आएँ तर मेयर ज्यूले कहिल्यै मान्नु भएन । जर्बजस्ती गैरकानुनी ढंगले सामान्य प्रशासन मन्त्रालयमा पत्र लेख्दै मेरो सरुवा गराउनु भएको छ । मैले पत्र बुझेको छैन । मेयर ज्यूको काम गैरकानुनी छ म यस्ता कामलाई कदापि स्वीकार्न सक्दिन ।’ उनले मेयरले नगरसभा गर्न नखोजेको आफू अनुकुल प्रशासकीय अधिकृत ल्याएर माओवादीका कार्यकर्ताहरुलाई पैसा बाड्न नै भएको दाबी गरे । उनले भने, ‘राज्यको चौंथो अंग पत्रकारिता क्षेत्रले यस्ता गलत कार्यको विरोध गर्नुप¥यो । बजेटमाथि मनपरी र दोहन गर्न राष्ट्रसेवक कर्मचारीको हिसाबले म कदापी दिन्न । मेरो गल्ती केही भए म कारबाही भोग्न तयार छु । उपसचिव तहको कर्मचारीलाई मन्त्रालयलाई सरुवाको लागि पत्र लेख्नु नै लाजमर्दाे कुरा हो । यस्ता बकमफुसे गैरकानुनी कदम कदापी स्वीकार्न सक्दिन ।’ उनले मेयर रहरले मनपरी काम गर्न खोज्ने र आफू कानुनको ठहरले काम गर्न खोज्दा द्वन्द्व सिर्जना भएको दाबी गरे ।
प्रमुख प्रशासकीय गौतम आठ महिनाअघि मात्र दोलखा जिल्लाबाट सरुवा भएर माडी आएका हुन् । उनलाई सरुवा भएर आउँदा पनि माडीका माओवादी नेता तथा कार्यकर्ताले माडी नआउन धम्की दिएका थिए । माडीमा काम गरिरहेका प्रशासकीय अधिकृतलाई फेरि सरुवा गरेर कनिष्ठ शिक्षा शाखाका अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन मेयर ढकालले समान्य प्रशासन मन्त्रालयमा पठाएको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पत्रमा सरुवाको निवेदन मंसिर १५ गते पठाइएको देखिन्छ ।
मेयरले यस्ता काम एकलौटी ढंगले गरिरहेको माडी नगरपालिकाकी उपमेयर ताराकाजी कुमारी महतोले नारायणी अनलाइनलाई प्रतिक्रिया दिइन् । अहिलेका प्रमुख प्रशासकीय अधिकृत गौतम नियम कानुन अनुसार काम गर्ने र मनपरी गर्न नदिने खालको व्यक्तित्व भएको उनले बताइन् । उपमेयर महतोले भनिन्, ‘ प्रमुख प्रशासकीय अधिकृतले असजिलो भयो भनेर कोही सेवाग्राही गुनासो गर्न आएका छैनन् । उहाँ नीति, विधि र पद्धतिलाई अपनाएर काम गर्नुहुन्छ ।’ मेयर ढकालले किन यस्तो गर्नुभएको हो आफूलाई धेरै जानकारी नभएको उनले बताइन् । मेयर ढकालसँग सम्पर्क राख्न खोज्दा माओवादी केन्द्रको महाधिवेशनमा व्यस्त भएकोले सम्पर्क हुन सकेन । Source: Narayani Online



