१२औं जीतपुरसिमरा गोल्डकपको सम्पुर्ण तयारी पुरा, डेनाईट खेल हुने

  • एस.एस. पटेल, बारा ।

बारामा संचालन हुने राष्ट्रिय बुटवल प्रतियोगिता जीतपुरसिमरा गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ । ११औं संस्करण जस्तै यसपालिको १२औं संस्करणको खेल पनि डेनाईटमै हुने छ ।

जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगितालाई जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन जागृती युवा क्लबबीच सोमबार मुख्य प्रायोजन सम्बन्धि सम्झौता भएको थियो ।

सम्झौतामा जगदम्बाकातर्फबाट जनसम्पर्क प्रबन्धक कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौता गरेका थिए । प्रतियोगिता बिहीबार सिमरा रंगशालामा सुरु हुँदैछ । अघिल्लो संस्करण सम्म सह–प्रायोजकको भुमिका निभाएको जगदम्बाले प्रतियोगिताको लोकप्रियता कम्पनीको ब्रान्ड प्रवर्द्धनका लागि सहयोगी बन्ने भएकाले मुख्य प्रायोजक बनेको जनसम्पर्क प्रबन्धक भट्टले बताए ।

सिमरा रंगशालामा चैत १९ गते सम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ५ सहित १० टोलीको सहभागिता रहनेछ । साविक विजेता संकटा क्लबसहित ए डिभिजन लिगका अन्य क्लबहरुमा न्युरोड टिम (एनआरी), फ्रेन्डस क्लब, हिमालयन शेर्पा र एपिएफ छन् । आयोजक नव जनजागृती क्लबसँगै सुदूरपश्चिम ११ धनगढी, विजय युथ क्लब हेटौंडा, बागमती युवा क्लब सर्लाही, बिएफसी चितवनले पनि प्रतियोगितामा भाग लिएका छन् । विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उद्घाटन खेल सुदूरपश्चिम ११ र फ्रेन्ड्स क्लबका बीचमा हुनेछ ।