- एस.एस. पटेल, बारा ।
विरगञ्जबाट बाराको कलैयास्थित माइतीघर जाने क्रममा एक महिलालाई मोटरसाइकलमा आएका २ जनाले एसिड प्रहार गरेका छन् । पर्सा जिल्लाको बीरगन्ज महानगरापालिका १३ बस्ने सीता पटेलमाथि बारामा शुक्रबार राति एसिड प्रहार भएको हो ।
विरगञ्जका उमेश साहकी श्रीमती २८ वर्षीया पटेल आफ्नो बाराको कलैयास्थित रहेको माइतीघर जाने क्रममा एसिड आक्रमणमा परेकी हुन ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार एसिड प्रहार भएको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटी गई घाइते पटेललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको थियो । सो अस्पतालबाट उनलाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल बीरगन्जमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पीडितले उक्त घटनामा जेठाजु बीरगन्ज श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र ससुरा ५० वर्षीय हवारी साह संलग्न रहेको बयान दिएकी छन् । दुवैलाई बीरगन्जबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।




