- जानकारी नेपाल, डेस्क ।
मधेस प्रदेशको बारामा एकजना किशोरीलाई बलात्कार गरी गर्भवती बनाएर गर्भ तुहाउन लगाईएको घटना बाहिरिएको छ । जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर १ की १६ वर्षीय नाम परिवर्तित (निर्मला) को अभिभावकले उनिसँग भएको ज्यादतीको बारे प्रहरीमा जानकारी गराएपछि घटना बाहिर आएको हो ।
किशोरीलाई केहि महिना अगाडि प्रासौनी वडा नम्बर २ का अन्दाजी २५/२६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले सामुहिक बलात्कार गरेका थिए । बलात्कार पश्चात गर्भवती भएकी किशोरीलाई साहद्वयले शनिबार राती घरबाट जबर्जस्ति उठाएर गर्भपतन गर्न लगाएका छन् ।
बलात्कारको आरोपितहरूले किशोरीलाई स्थानीय एकजना ओम प्रकाश महत्तोको नामक चिकित्सकको क्लिनिकमा लगेर गर्भपर्तन गराएको किशोरीले प्रहरीलाई बयान दिएकी छन् । अचेत बनाएर गर्भपतन गराएपछि बिहान होशमा आएर घर फर्केपछि किशोरीले आफूसँग साहद्वय र महतोले गरेको ज्यादती बारे अभिभावकलाइ जानकारी गराएकी थिइन् ।
आइतबार पिडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महत्तो विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएको बारा प्रहरीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक राजेश थापाले बताउनु भयो । प्रबक्ता थापाका अनुसार किटानी जाहेरी परेका आरोपित साहद्वय र महत्तो फरार छन् । उनिहरुको खोजी भइरहेको छ । पिडित किशोरीको आइतबार दिउँसो प्रदेशीक अस्पताल कलैयामा स्वास्थ्य परिक्षण गराई हाल प्रहरीकै संरक्षणमा राखिएको थापाले जानकारी दिए ।
पिडित किशोरीकी आमाका अनुसार बलात्कार तीन महिना पहिले भएतापनि आरोपित युवकहरुले उनलाई ज्यान मार्ने धाकधम्की दिएर घटना लुकाउन लगाएका थिए । तर, दुई दिन पहिले अचानक महिनावारी रोकिएपछि किशोरीले यस बारे आरोपित युवकहरुलाइ भेटेर आफु गभर्भवती भएको बताएकी थिइन । त्यसपछि साहद्वयले शनिबार राति उनलाई जबरजस्ति डाक्टर महत्तोकोमा लगेर गर्भ पतन गराएका हुन् ।




